श्रीलङ्कामा सङ्कटकाल घोषणा

न्युजलय २९ असार २०७९, बुधबार ०१:३८ मा प्रकाशित

काठमाण्डौ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गरेका हुन् । 

प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन् । 

राष्ट्रपति राजपाक्षे र उनकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुगेका छन् । सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरि खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।