नेपाली नागरिकको रूपमा दिल्लीमा बस्दै आएकी चिनियाँ महिला पक्राउ

न्युजलय ४ कार्तिक २०७९, शुक्रबार १२:१४ मा प्रकाशित

काठमाडौँ । भारतको दिल्ली प्रहरीले नेपाली नागरिकका रूपमा बस्दै आएकी एक चिनियाँ महिलालाई पक्राउ गरेको छ । 

भारतीय समाचार संस्था एएनआईका अनुसार चीनको हेनान प्रान्तकी स्थायी बासिन्दा काई रु‌ओलाई दिल्ली प्रहरीले गत सोमबार पक्राउ गरेको हो ।

प्रहरीले ती महिला भारतविरोधी गतिविधिमा संलग्न भएको पाइएको समेत दाबी गरेको छ । उनले दिल्लीमा लामो समयदेखि आफूलाई नेपाली नागरिक बताउँदै आएको दिल्ली प्रहरीले जनाएको छ । उनलाई उत्तरी दिल्लीको मजनूका टीला क्षेत्रबाट गिरफ्तार गरिएको हो ।

दिल्ली प्रहरीका अनुसार ती महिलाको साथबाट डोल्मा लामा लेखिएको नक्कली नेपाली नागरिकता प्रमाणपत्रसमेत भेटिएको छ ।

ती महिला सन् २०१९ मा चिनियाँ राहदानीमा भारत भ्रमणमा आएको देखिएको पनि प्रहरीले जानकारी दिएको छ । 

उनलाई अनुसन्धानका लागि १४ दिन प्रहरी हिरासतमा पठाइएको छ ।