पाकिस्तानमा डेङ्गुको प्रकोप बढ्दै, ३० हजार भन्दा धेरैमा सङ्क्रमण

न्युजलय १५ असोज २०७९, शनिवार ०८:३७ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिदै गएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

 

योसँगै पाकिस्तानमा डेङ्गुबाट यस बर्ष मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या ३० हजार २६७ पुगेको छ । 


इस्लामावाद जिल्ला स्वास्थ्य कार्यालय (डिएचओ)ले शनिबार दिएको जानकारी अनुसार कुल सङ्क्रमित मध्ये दुई हजार ४३५ जना राजधानी इस्लामावादका हुन् । 

 

डेङ्गुका कारण यस बर्ष मात्रै पाकिस्तानमा ६८ जनाको मृत्यु भएको पनि डिएचओले जनाएको छ । ती मध्ये छ जनाको राजधानी इस्लामावादमा मृत्यु भएको हो । 


पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला डेङ्गुको प्रकोप पनि फैलिएको हो । 

 

बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको सिन्ध प्रान्त नै डेङ्गुबाट पनि सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । सिन्ध प्रान्तमा डेङ्गुबाट मात्रै ३७ जनाको मृत्यु भएको छ ।