सिचुआन भूकम्पमा ७४ जनाको मृत्यु

न्युजलय २२ भदौ २०७९, बुधबार ०१:२४ मा प्रकाशित

काठमाडौं । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारअनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन्। मंगलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताइएको छ।

यान सहरमा मंगलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।

सिचुआन प्रान्तको प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ। 

भूकम्पको केन्द्रबिन्दू सिचुआन प्रान्तको काङदिङ सहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।

सो भूकम्प १० किलोमिटर गहिराइमा तथा ६‍.८ म्याग्निच्युडको रहेको पनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ।