काठमाडौं । अमेरिकाले अफगानिस्तानमा गरेको ड्रोन हमलामा अलकायदाका मूख्य नेता अयमान अल जवाहिरी मारिएका छन् । राष्ट्रपति जो बाइडेनले प्रतिआतङ्कवाद कारबाहीमा उनको मृत्यु भएको जनाएका हुन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध श्रृङ्खलावद्ध रुपमा हत्या र हिंसा गरेकाले उनले सजाय भोगेको बताएका बीबीसीले जनाएको छ ।
अमेरिकी आक्रमणको बेला जवाहिरी सुरक्षित घरमा परिवारका साथमा थिए । ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो । तर परिवारका अरु सदस्यलाई कुनै हानी नभएको र जवाहिरीको मात्र मृत्यु भएको अमेरिकी दाबी रहेको छ ।
सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मेवारी लिएका थिए । उनी र बिन लादेनले मिलेर सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकाको ट्वीन टावरमा भएको आक्रमणको योजना बनाएका थिए ।