विराटनगर । भोजपुर जिल्लाको दीर्घकालीन विकाससँग प्रत्यक्ष सरोकार राख्ने चुवार पुल निर्माणको विषय पुनः तीव्र रूपमा उठाइएको छ ।
राज्यको नेतृत्व तहमा भोजपुरको महत्वपूर्ण भूमिका रहँदै आए पनि, स्थानीय जनताले वर्षौंदेखि अपेक्षा गरेको उक्त पुल निर्माण अझै सुरु हुन नसक्नु गम्भीर चिन्ताको विषय बनेको छ। सरोकारवालाहरूले अब पनि ढिलाइ भए जनआक्रोश बढ्ने चेतावनी दिएका छन्।
विकासको ढोका खोल्ने आधारका रूपमा हेरिएको यस पुलले भोजपुरे जनताको संघर्ष, सपना र भविष्यलाई प्रतिविम्बित गर्ने विश्वास गरिएको छ। सोही सन्दर्भमा, हसनपुर सुनसरी सम्पर्क मञ्च को अगुवाइमा कोशी प्रदेश सरकारसमक्ष ध्यानाकर्षण पत्र पेश गरिएको हो ।
उक्त ध्यानाकर्षण पत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवार समक्ष बुझाइएको थियो। कार्यक्रममा मञ्चका पदाधिकारी, संयोजक, सदस्यहरू, हतुवागढी गाउँपालिकाका अध्यक्ष, वडा नं. ९ हसनपुरका वडा अध्यक्ष, पत्रकार , व्यवसायी ,भोजपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद तथा पूर्वराज्यमन्त्री सिर्जना राई लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पत्र बुझाएपछि मञ्चका सचिव शम्भु राईले यो अभियान कुनै दल, वर्ग, जात वा धर्मसँग नजोडिएको स्पष्ट पारे। उनका अनुसार, “यो पूर्णतः स्वतन्त्र र जनआवाजमा आधारित पहल हो। हामीले स्थानीय जनताको पीडा र अपेक्षालाई सरकारसमक्ष प्रस्तुत गरेका छौं। अब ढिलाइ नगरी तत्काल पुल निर्माण कार्य सुरु गरिनुपर्छ।
उनले थप प्रदेश सरकार लाई चेतावनी दिँदै भने, ‘यदि यस मागप्रति पनि सरकारले बेवास्ता गर्यो भने, चरणबद्ध आन्दोलन तथा दबाबमूलक कार्यक्रम सञ्चालन गरिनेछ।’
चुवार पुल अब केवल पूर्वाधार आयोजना मात्र नभई भोजपुरे जनताको आशा, अधिकार र समृद्ध भविष्यसँग गाँसिएको साझा सपना बनेको छ।