काठमाडौं । बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बेलायतको राजदरबार बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै महारानीको मृत्यु भएको सार्वजनिक गरेको हो । बकिंघम प्यालेसअगाडि महारानीको अवस्थाबारे अपडेट पर्खिरहेको भिड उनको मृत्युको समाचार सुनेपछि स्तब्ध भएको थियो । अधिकांश रुन थालेका थिए ।
महारानी एलिजाबेथको स्वास्थ्यस्थिति बिग्रँदै गएपछि परिवार र निकट सदस्य बालमोरल दरबारमा भेला भएका थिए । डाक्टरहरूले मेडिकल पर्यवेक्षणमा राखेपछि उनका चारैजना सन्तान एबरडिननजिकैको बालमोरलमा गएका थिए । साथमा उनका नातिहरू राजुकमार विलियम र उनका भाइ ह्यारी पनि थिए ।
सन् १९५२ मा राजमुकुट पहिरिएपछि महारानी एलिजाबेथको ७० वर्षे शासनकालमा देश र विश्व धेरै परिवर्तनबाट गुज्रियो । भर्खरै दोस्रो विश्वयुद्ध सकिएपछिको अवस्थामा उनी देशको पुर्ननिर्माण, शितयुद्ध, युरोपेली संघमा बेलायतको प्रवेश र बहिरगमनको साक्षी बनिन् । उनको शासनकालमा बेलायतमा १५ प्रधानमन्त्री फेरिए । हरेक साताजसो प्रधानमन्त्रीसँग उनले भेटघाट गर्ने परम्परा बसाएकी थिइन् ।
बेलायतको स्थानीय समयअनुसार साँझ साढे ६ मा दरबारमाथिको देशको झन्डा आधा झुकाइएको थियो । महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठो छोरा चाल्र्स स्वतः नयाँ राजा बनेका छन् । उनी संयुक्त अधिराज्यका अतिरिक्त १४ राष्ट्रमण्डल क्षेत्रहरूका लागि राज्य प्रमुख हुनेछन् ।
पुरा नाम एलिजाबेथ अलेक्जान्ड्रा मेरी विन्डसर रहेकी महारानी एलिजाबेथ द्वितीयको जन्म २१ अप्रिल १९२६ मा लन्डनको मेफेयरमा भएको थियो । उनी जन्मिँदा राजसिंहासनमा बस्लिन् भन्ने कल्पना कसैले गरेका थिएनन् । किनकि उनी स्वाभाविक उत्तराधिकारी थिइनन् । तर, सन् १९३६ डिसेम्बरमा तत्कालीन उत्तराधिकारी तथा एलिजाबेथको ठूलोबुबा एडवर्ड आठौँले राजगद्दीको दाबी त्यागिदिएपछि उनको पिता राजा बने । पिता जर्ज छैटौँ राजा हुँदा एलिजाबेथ १० वर्षकी थिइन् र राजाको जेठो सन्तानका रूपमा स्वतः सिंहासनको उत्तराधिकारी बनिन् ।
महारानी एलिजाबेथ द्वितीयको सन् १९४७ मा ग्रिसका युवराज फिलिपसँग विवाह भयो । उनीहरूको चार छोराछोरी, आठ नातिनातिना र १२ जना पनातिपनातिना छन् । जसमध्ये अहिले राजा बनेका चाल्स जेठो हुन् भने उनीपछि क्रमशः राजकुमारी एनी, राजकुमार एन्ड्र्यु र राजकुमार एडवर्ड छन् । एलिजाबेथ द्वितीय ६ फागुन ०४२ मा श्रीमान्का साथ दोस्रोपटक नेपालमा भ्रमणमा आएकी थिइन् । त्यसअघि उनी ०१८ मा भ्रमणमा आएकी थिइन् ।