काठमाडौं । दक्षिण अफ्रिकामा ८ जना महिलालाई सामूहिक बलात्कार गर्ने ७ जना पक्राउ परेका छन् । घटनामा संलग्न कयौँ व्यक्ति फरार रहेका छन् ।
दक्षिण अफ्रिकी अधिकारीहरूले जोहानेसबर्ग नजिकैको एउटा खानीमा ८ जना महिलामाथि ३२ पटकसम्म सामूहिक बलात्कार गरेको आरोपमा ७ जनालाई पक्राउ गरिएको जनाएका छन् । घटनामा ५० जना भन्दा धेरैको संलग्नता रहेको शंका रहेको बीबीसीले जनाएको छ । गत महिना क्रुगर्सडोर्प सहर नजिकैको खानीमा म्युजिक भिडियो खिच्ने क्रममा आठ महिलाको समूहमाथि आक्रमण भएको थियो।
अधिकारीहरूका अनुसार अवैध खानीमा पटक पटक यस्ता घटना हुँदै आएका छन् । घटनामा संलग्नमध्ये केहि दक्षिण अफ्रिका भन्दा बाहिरका नागरिक रहेका छन् । संदिग्धहरूलाई प्रहरी पक्राउ गरेर लाइन लगाएपछि पीडित महिलाले पहिचान गरेका थिए।
अधिकारीहरूले डीएनए परीक्षणको निष्कर्षमा पुगेपछि आरोप लागेका व्यक्तिहरूको संख्या बढ्न सक्ने बताए । उनकाअनुसार संलग्न व्यक्तिहरू मध्ये धेरैले अनुहार छोपिने विशेष किसिमका वस्त्र लगाएका थिए ।
घटनापछि दक्षिण अफ्रिकामा आक्रोश फैलिएको छ र केही अधिकारीहरूले महिला विरुद्ध हुने हिंसालाई रोक्न थप कदम चाल्न आग्रह गरेका छन् ।
दक्षिण अफ्रिका बलात्कार र यौन दुर्व्यवहारको विश्वको सबैभन्दा उच्च दर भएको देश हो, तर पनि सजायको दर न्यून छ।
राष्ट्रपति सिरिल रामाफोसाले यस महिनाको सुरुमा राष्ट्रिय सम्बोधनमा आक्रमणकारीहरूलाई न्यायको दायरामा ल्याउन मद्दतको लागि अपील गरेका छन्।