काठमाडौं । म्यानमारमा अल्पसंख्यक मुस्लिम रोहिंग्या समूहका सात जना व्यक्तिको भोक, तिर्खा र अन्य जोखिमका कारण मृत्यु भएको छ । म्यानमारका अधिकारीहरूले दक्षिणी तटमा डुंगाबाट नियन्त्रणमा लिएका ६५ जनाको समूहमध्येका सात जनाको मृत्यु भएको हो ।
अधिकारीहरूले व्यावसायिक केन्द्र यांगुनबाट करिब १२० किलोमिटर दक्षिणमा प्यापोन टाउनसिप नजिकै एउटा जहाजलाई नियन्त्रणमा लिएको ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारले जनाएको छ । चार तस्कर र ६५ जना पीडितलाई अस्थायी रूपमा हिरासतमा राखिएको उक्त पत्रिकाले जनाएको छ ।
खराब मौसम र खानेकुरा तथा पानीको अभावमा तीन पुरुष र चार महिलाको मृत्यु भएको पनि उक्त पत्रिकाले जनाएको छ । त्यस्तै, ६ जनाको उपचार भइरहेको छ । समूहका पाँच जनलाई थुनामा राखिएको र छानविनपछि उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।