काठमाडौं । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत उनी असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए ।
रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले राष्ट्रपति राजपाक्षेले देश छाडेको खबर लेखेको छ ।
द गार्जियनकाअनुसार उनले मंगलबार कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ ३२ मार्फत देश छाडेका हुन् । विमानमा ७३ वर्षीय राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु रहेका छन् ।
कतिपय सञ्चार माध्यमले उनी माल्दिभ्स पुगेको उल्लेख गरे पनि यसको पुष्टि हुन नसकेको द गार्जियनले लेखेको छ ।
उनी दुबई पनि जान खोजेका थिए । तर विमानस्थलको भीआईपी कक्षमा जानबाट अधिकारीहरुले रोकेका थिए भने सामान्य लाइनमा बस्न उनी डराएका थिए ।
यसअघि पनि भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूताबासले उनलाई भ्रमण भिसा दिन अस्वीकार गरेको थियो ।
उनी राष्ट्रपतिको उम्मेदवार बन्नुअघि वर्षौंदेखि अमेरिका बस्दै आएका थिए । त्यहाँ उनका एक छोरा र नातिनातिना रहेका छन् । राष्ट्रपतिको उम्मेदवार बन्न उनले अमेरिकी नागरिकता त्यागेका थिए । सोही कारण अमेरिकाले उनलाई आगन्तुक भिसा दिन अस्वीकार गरेको हो ।