रुसको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु

न्युजलय १० असोज २०७९, सोमबार ०६:३५ मा प्रकाशित

काठमाडौँ । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा १३ जनाको मृत्यु भएको छ ।


रुसी अनुसन्धान निकायलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले जनाएअनुसार मध्यपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै अवस्थित विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।

 

यसअघि स्थानीय प्रशासनले दिएको जानकारीमा गोली लागी नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको बताइएको थियो ।


आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ ।


आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको तासले जनाएको छ ।


आक्रमण भएको विद्यालयमा ९८२ विद्यार्थी र ८० शिक्षक रहेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।