पाकिस्तानमा बर्षा र बाढीबाट चौबीस घन्टायता ५४ जनाको मृत्यु

न्युजलय २९ भदौ २०७९, बुधबार ११:५९ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको मृत्यु भएको छ । 

साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ जनाको बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ ।

मङ्गलबार रातिसम्म बाढीमा परेर ५४ जनाको ज्यान गएको  र अरु छ जना घाइते भएका सो संस्थाले जनाएको छ । बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ । सिन्धमा मङ्गलबार मात्र ४४ जनाको ज्यान गएको हो । तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ ।

 यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् ।