फेरि पनि अफगानिस्तानमा टिकटक बन्द

न्युजलय ३ असोज २०७९, सोमबार ०२:१८ मा प्रकाशित

काठमाण्डौ । अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको कम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका हुन् ।

मुस्लिम समुदायले अवलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरूको भनाइ छ ।

प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिबान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।