२४ घण्टामा १८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

न्युजलय २६ असार २०७९, आइतबार ०१:५२ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । 

हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।  

पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । चौबिस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा ४२ को मृत्यु भएको छ ।

कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २५ हजार ४२८ को मृत्यु भएको छ ।