अन्ततः बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

न्युजलय २३ असार २०७९, बिहिबार ०७:०१ मा प्रकाशित

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन्। सरकारमा सहभागी मन्त्री तथा विभागीय प्रमुखहरुले धमाधम राजीनामा दिएपछि उनले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ।


बेलायती तल्लो सदनमा बहुमत रहेको कन्जरभेटिभ पार्टीका नेताका रुपमा जोनसन प्रधानमन्त्री भएका थिए। उनले पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएका हुन्।


उनले आफूलाई प्रतिस्थापन गर्ने नेता चयन भएसँगै प्रधानमन्त्रीबाट बाहिरिने बिहीबार घोषणा गरेका हुन्। पछिल्लो २४ घण्टामा जोनसन सरकारका दर्जनबढी मन्त्रीहरुले राजीनामा दिएका थिए। प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै उनले आफू अन्तिमसम्म लडेको भन्दै ‘दुःखद’ क्षणमा आएको बताए।

 

सम्बोधनका क्रममा उनले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा धन्यवाद दिए। सन् २०१९ को डिसेम्बरमा भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत हात पारेको थियो।

  


उनले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन रहनेसमेत बताए।


उनले नयाँ प्रधानमन्त्री नआउँदा सम्मका लागि प्रधानमन्त्रीकै भूमिका निभाउने छन्। त्यसका लागि उनले सानो मन्त्रिपरिषद् बनाउनेसमेत बताएका छन्। जोनसन सरकारका ५९ सदस्यहरुले राजीनामा दिइसकेका छन्। बुधबार बिहान जोनसन सरकारका स्वास्थ्यमन्त्री साजिद जाभिद र चान्सलर ऋषि सुनाकले राजीनामा दिएसँगै राजीनामाको लहर चलेको थियो।


जोनसनले राजिनामा दिँदै गर्दा उनकी श्रीमती क्यारी जोनसन आफ्नो शिशु काखमा लिएर सँगै उभिएकी थिइन्। सम्बोधनका क्रममा जोनसनले श्रीमतीसहित आफ्ना परिवारका सदस्यलाई धन्यवाद दिए।


अन्त्यमा उनले आफू बाहिरिएपनि बेलायत सधैँ युक्रेनी जनताको पक्षमा हुने समेत बताएका छन्।