इटहरीमा ‘सैप्रोल कविता कन्सर्ट–२०८२’ सम्पन्न

न्युजलय १९ चैत २०८२, बिहिबार ०४:३४ मा प्रकाशित

इटहरी । १७ औँ तमु एकता दिवस–२०८२ को अवसरमा कवि गौरी तमुको ‘सैप्रोल कविता कन्सर्ट–२०८२’ सम्पन्न भएको छ। 


तमु भाषा, संस्कार, संस्कृति तथा साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। 


कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय परिषदका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो। साथै, परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डमबर गुरुङ, उपाध्यक्ष केशरमान गुरुङ केन्द्रीय सदस्यहरू धिरज गुरुङ, बलिमान गुरुङ, दिब्यराज गुरुङ लगायत सुनसरीका विभिन्न स्थानबाट आएका गुरुङ समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। दोस्रो सत्रमा कवि गौरी तमुको ‘सैप्रोल कविता कन्सर्ट–२०८२ विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो। उक्त सत्रमा इटहरी मोरङका साहित्यिक श्रस्टाहरु विशेष उपस्थितिमा अन्तर्राष्ट्रिय कवि मनु मन्जिल तथा कवि एवं लेखक सीमा आभासले “सैप्रोल” कविता सङ्ग्रहमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।


इटहरी चौकस्थित कञ्चनजङ्घा क्लबमा आयोजित रंगकर्मी सोनु जयन्तिले कार्यक्रमको सञ्चालन गरेका थिए । यसै अवसरमा सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात गर्दै संस्थाले सुनसरी क्षेत्रभित्रका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई जनही रु ५,००० का दरले अध्ययन सहयोग प्रदान गरेको थियो।