जलवायु परिवर्तन: चीनमा यो साता उष्णलहर, तापक्रम उच्च हुने चेतावनी

न्युजलय ७ साउन २०७९, शनिवार ०४:०६ मा प्रकाशित

उष्णलहरका कारण चीनका केही भूभागमा आगामी १० दिन उच्च तापक्रम हुने अनुमान गरिएको छ।

केही प्रान्तहरूमा तापक्रम ४० डिग्री सेल्सीअसभन्दा माथि पुग्ने अधिकारीहरूले आकलन गरेका छन् भने सङ्घीय सरकारले जङ्गलमा डढेलो लाग्न सक्ने चेतावनी दिएको छ।

परम्परागत चिनियाँ पात्रो अनुसार "तातो दिन" भनिने शनिवारदेखि चीनको तापक्रम उकालो लाग्न सुरु हुने बताइएको छ।

दक्षिण-पूर्वी जेजियाङ प्रान्तका केही सहरले उच्च तहको चेतावनी जारी गरेका छन्।

सो प्रान्तमा जुलाईमा सामान्यतया ३० डिग्रीसम्मको तापक्रम हुने भए पनि अर्को २४ घण्टामा त्यहाँको तापक्रम ४० डिग्रीसम्म पुग्न सक्ने चेतावनी जारी गरिएको छ।

उष्णलहरसँग जुझ्न चीनमा धेरै मानिसहरूले घर, कार्यालय र उद्योगमा वातानुकूलित उपकरण प्रयोग गर्न थाले पनि त्यसले राष्ट्रिय ऊर्जा आपूर्तिमा असर पार्न सक्ने बताइएको छ।

यो वर्ष गर्मी याममा ऊर्जाको माग उच्च हुन सक्ने आकलन गर्दै आपत्कालीन व्यवस्थापन मन्त्रालयले सुरक्षित व्यवस्थापनका लागि कठिन समय भोग्नु पर्ने बताएको छ।

जुलाईमा साङ्घाईको तापक्रम ४०.९ डिग्री सेल्सीअस पुगेको छ जुन सन् १८७३ देखि तापक्रमको तथ्याङ्क राख्न सुरु गरिएयता सबैभन्दा उच्च तापक्रम बराबर हो। यसअघि सन् २०१७ मा पहिलो पटक त्यहाँ त्यति तापक्रम मापन गरिएको थियो।

सो सहरले तेस्रो पटक उच्च तापक्रमबारे चेतावनी जारी गरेको छ।

मानव सिर्जित जलवायु परिवर्तनका कारण संसारभर उष्णलहर नियमित, जोखिमपूर्ण र लामो बन्दै गइरहेका छन्।

औद्योगिक युगयता विश्वको तापक्रम औसतमा १.१ डिग्री सेल्सीअसले बढेको छ र विश्वभरका देशहरूले उत्सर्जन कम नगरे तापक्रम बढिरहने विज्ञहरूले चेतावनी दिएका छन्।