नेताहरुको योगदान सम्झँदै एमाले प्रचार कार्यालयमा काव्य—कोण सभा

न्युजलय ७ फाल्गुण २०८२, बिहिबार ०९:३९ मा प्रकाशित

झापा । झापा निर्वाचन क्षेत्र नं. ५ स्थित दमकको एमाले निर्वाचन प्रचार कार्यालयमा चुनावी काव्यकोण सभा गरिएको छ । सभामा प्रा.डा. बद्रीविशाल पोखरेल डा. गोपाल भण्डारी र सर्जक नरेन्द्रनाथ भट्टराई, मिथिला पोखरेल लगायतले चुनावी मुक्तक, कविता, गीत, प्यारोडी वाचन गरेका थिए ।

कवितामार्फत् पार्टीको राजनैतिक इतिहासलाई उपहास नगर्न, पार्टी र प्रमुख तथा प्रभावशाली नेतृत्वको गुन नबिर्सन, पार्टीका एकाध नेताका विकृतिलाई आधार बनाएर गुनीलाई बैगुनी र बैगुनीलाई गुणैगुण युक्त नभन्नसमेत आग्रह गरिएको थियो । मतदानका बेला विवेक प्रयोग गर्नुपर्छ भन्ने आशय पनि चुनावी कवितामा व्यक्त भएको थियो ।

कवितामार्फत् एमाले जननेता मदन भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत गरेका उल्लेखनीय कामहरु रोचक पारामा प्रस्तुत गरिएको थियो । लहैलहैका भरमा अमूल्य मत खेर फाल्न हुन्न भन्ने सन्देश कवितामा प्रस्तुत गरिएको थियो । तत्कालीन एमाले उपाध्यक्ष विद्या भण्डारीको योगदानको समेत चर्चा गरिएको थियो । 

कार्यक्रमका एमाले नेता तथा पूर्व मन्त्री देवेन्द्र दाहाल प्रमुख अतिथि थिए भने एमाले केन्द्रीय सदस्य रोमनाथ ओली विशेष अथिति थिए । यस्तै दमक नगरपालिका पूर्व उपप्रमुख गीता अधिकारी, वरिष्ठ शिक्षक रघुनाथ मिश्रले पनि बोलेका थिए ।