सुकीलाई थप ३ वर्ष जेल सजाय

न्युजलय १८ भदौ २०७९, शनिवार ०८:५२ मा प्रकाशित

काठमाडौँ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीमाथि त्यहाँको सैनिक अदालतले थप ३ वर्षको जेल सजाय सुनाएको छ । सन् २०२० को नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीले धोका दिएको ठहर गर्दै सैनिक अदालतले उक्त फैसला गरेको हो ।

 

निर्वाचनमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत प्राप्त गरेको थियो ।

 

निर्वाचनमा ठूलो मात्रामा नक्कली मतदान गरिएको भन्दै गत वर्ष सेनाले सत्ता हातमा लिएको थियो । मुलुकभर सैनिक परिचालन गरी सुकीलगायत एनएलडीका मुख्य नेताहरूलाई पक्राउ गरिएको थियो । निर्वाचनमा खटिएका स्वतन्त्र पर्यवेक्षकहरूले भने जनताको इच्छाअनुसारकै प्रतिनिधि चुनिएको बताएका थिए ।


सेनाले सत्ता हत्याएपछि ७७ वर्षीया सुकी राजधानीस्थित आफ्नै घरमा नजरबन्दमा छिन् । हालसम्म उनीमाथि विभिन्न ११ वटा कसुरमा २० वर्षको जेल सजाय तोकिइसकेको छ । केही आरोपहरूको सुनुवाइ हुन बाँकी छ । जसमा मागदाबी गरेअनुसारकै सजाय तोकिएमा उनले कम्तीमा २ सय वर्ष जेल सजायको सामना गर्नुपर्ने हुन्छ ।