काठमाडौं । साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् ।
साउदी प्रेस एजेन्सीमा प्रकाशित आदेश अनुसार राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ ।
छोटकरीमा एमबीएसका नामले समेत चिनिने मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् । अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ।
त्यस्तै विदेश मन्त्री पनि राजपरिवारकै सदस्यले निरन्तरता पाएका छन् । फैसल बिन फरहान विदेशमन्त्रीको रुपमा निरन्तरता पाएका हुन । अर्थ र लगानी मन्त्रीले पनि निरन्तरता पाएका छन् ।