काठमाडौँ । अफगानिस्तानमा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । पछिल्लो ४८ घण्टाको अवधिमा बाढीले हजारौं घरहरू भत्काएको छ ।
विपद् व्यवस्थापनका अधिकारीहरूका अनुसार भारी वर्षा र बाढीले ठूलो मात्रामा अन्नबाली नष्ट गरेको छ। २०२२ सुरु भएयता अफगानिस्तानका जनताहरू ठूला प्राकृतिक विपद्का घटनाबाट गुज्रिएका छन् ।
यसअघि जुन महिनामा खडेरी र शक्तिशाली भूकम्पका कारण १ हजार जनाभन्दा धेरै मानिसको मृत्यु भएको थियो । यसपटक बाढीका कारण लोगार प्रान्तमा २० जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका छन् । अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद नसिम हक्कानीका अनुसार बाढीका कारण मध्य अफगानिस्तानका थुप्रै स्थानहरू प्रभावित बनेका छन् ।
गत अगस्ट महिनामा तालिबानले सत्ता हत्याएपछि तालिबान सरकारका लागि प्राकृतिक विपद् व्यवस्थापन गर्नुपर्ने काम प्रमुख चुनौतीको रुपमा देखिएको बताइन्छ ।