काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु

न्युजलय १४ असोज २०७९, शुक्रबार १२:५६ मा प्रकाशित

काबुल । अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । 

आक्रमणमा कैयौं घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो ।

विद्यार्थी परीक्षा दिइरहेका बेला विष्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन् । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन् ।

विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका छन् । अहिलेसम्म कुनै पनि संगठनले विष्फोटको जिम्मेवारी लिएको छैन ।