काठमाडौं । इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
आगलागीका कारण चर्च भित्रका मानिसहरु बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेहरुको संख्या धेरै भएको बताइएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।
आगलागीमा परी दर्जनौं घाइते भएका छन्। अग्नि नियन्त्रकका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। कसरी इलेक्ट्रिक सर्किटमा आगलागी हुन पुग्यो भन्ने कुरा खुलाइएको छैन।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले आगलागीमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अपर्ण गरेका छन् भने घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्। उक्त घटनाको अनुसन्धानका लागि टोली पठाइसकिएको पनि बताइएको छ।