म्यान्मारमा चार जना अभियानकर्मीलाई मृत्युदण्ड

न्युजलय ९ साउन २०७९, सोमबार ०४:२९ मा प्रकाशित

काठमाडौँ । म्यान्मारको सैनिक सरकारले चारजना लोकतन्त्रवादी अभियानकर्मीहरुलाई मृत्युदण्ड दिएको छ । 

‘आतंककारी कार्य’ मा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका उनीहरुलाई मृत्युदण्ड दिइएको म्यान्मारको सैनिक सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मृत्युदण्ड पाउनेमा अभियानकर्मी को जिम्मी भनिने क्याउ मिन यू र विधायक एवम् हिपहप कलाकार फ्यो जेया थव समेत रहेको बीबीसीले जनाएको छ । त्यस्तै, राजनीति एवम् लोकतन्त्रवादी अभियानको क्षेत्रमा खासै चर्चा नहुने ह्ला म्यो आङ र आङ थुरा जवले पनि मृत्युदण्ड पाएका छन् ।

उनीहरुलाई गत जनवरी र अप्रिल महिनामा गोप्य सुनुवाईका क्रममा मृत्युदण्डको फैसला सुनाइएको थियो । उनीहरुले मुलुकको सरकार चलाइरहेको सेना विरुद्ध लड्न विद्रोही लडाकुहरुलाई सहयोग गरेको आरोप लगाइएको थियो ।

मृत्युदण्ड दिइनुअघि उनीहरुलाई विश्वमै कुख्यात मानिने उपनिवेशकालीन इन्सेइन कारागारमा राखिएको जनाइएको छ ।

मुलुकको राष्ट्रिय सञ्चारमाध्यमले सोमबार मृत्युदण्डबारे समाचार प्रसारण गरेको थियो । पछि सैनिक सरकारका प्रवक्ता जाव मिन टुनले मृत्युदण्ड दिएको घटना पुष्टि गरेका थिए ।

यद्यपि उनीहरुलाई कुन समयमा मृत्युदण्ड दिइएको हो भन्ने अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ ।

म्यान्मारमा गत वर्षको फेब्रुअरी महिनामा कु गरी सेनाले सत्ता हत्याएको हो ।