भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु, चार जना पक्राउ

न्युजलय २७ चैत २०८२, शुक्रबार १२:०९ मा प्रकाशित

भोजपुर । भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि सम्मरबहादुर आफ्ना सानाबुवा शङ्कराज तामाङको घरमा बस्दै आएका थिए।

षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मङ्गलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार चारैजनालाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।