इटहरी । इटहरी क्षेत्रमा नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा मातहतका इकाइहरूले विशेष सूचनाको आधारमा संयुक्त रूपमा चेकिङ गर्दा ती सवारी साधनहरू फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानअनुसार ती सवारी साधनहरू भारत लगायत विभिन्न स्थानबाट चोरी पैठारी गरी ल्याइएको र आवश्यक कागजात बिना सञ्चालन भइरहेको पाइएको कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका चारपाङ्ग्रे सवारी साधनहरूमा सुनसरीको इटहरी चौकबाट प्र–१–०१–००१ च ९९१२ नम्बरको सेतो टाटा पन्च कार, भोक्राहा नरसिंह गाउँपालिका–३ लौकहीबाट प्रदेश २–००२ च ४०९८ नम्बरको महिन्द्रा बोलेरो पिकअप, झापाको बिर्तामोड नगरपालिका–५ बाट बा १३ च ७७६ नम्बरको हुण्डाई आई–२० कार र भद्रपुर नगरपालिका–९ चन्द्रगढीबाट भारतीय नम्बर प्लेट एसके ०१ पीए ३०२९ भएको मारुती सुजुकी कार रहेका छन्। नेपाली गाडीहरु आफूले आयात नगरेको आधिकारीक आयातकर्ता कम्पनिले जनाएपछि नियन्त्रणमा लिइएको हो भने भारतीय नम्बर प्लेट भएको सवारी साधनको इन्जिन तथा चेसिस नम्बर मेल नखाएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै सवारी साधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय, कोशी ब्यारेज सुनसरीमा बुझाइएको प्रहरीको भनाइ छ।