काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेडको सेवा अझै स्तरीय र व्यापक बन्ने भएको छ ।
सुविसु र एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेटको नयाँ संस्करण आइपीभी सिक्सको प्रवर्द्धनमा सक्रिय संस्था एपाक आइपीभी सिक्स काउन्सिलबीच हालै एक सम्झौता भएको छ । काठमाडौमा सम्पन्न सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
सम्झौताअनुसार दुई संस्थाबीच प्राविधिक ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदान, संयुक्त प्रकाशन, विशेषज्ञता आदानप्रदान तथा परस्पर प्रचार–प्रसारमा सहकार्य गरिनेछ। यससँगै सुबिसुले काउन्सिलको संस्थागत सदस्यका रूपमा आबद्ध हुने अवसर प्राप्त गरेको छ।
चौथो एपाक आइपीभी सिक्स काउन्सिल सम्मेलनको पहिलो दिन भएको उक्त कार्यक्रममा सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन सउद र काउन्सिलका अध्यक्ष प्राध्यापक इमेरिटस डा। सुरेश्वरन रामादासबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
काउन्सिल एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेटको नयाँ संस्करणको विस्तार र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो। यसले दूरसञ्चार तथा सञ्जाल पूर्वाधारमा नयाँ प्रविधिको प्रभावकारी प्रयोगका लागि प्राविधिक नेतृत्व प्रदान गर्दै आएको छ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत सउदले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलन आयोजना गरी काउन्सिलसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताए। उनका अनुसार यस सम्झौताले नेपाललाई एसिया–प्रशान्त क्षेत्रको प्रविधि संवादको केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
सम्झौताका मुख्य क्षेत्रहरूमा प्राविधिक कागजात तथा सूचनाको आदानप्रदान, प्रकाशनमा सहकार्य, नाम र प्रतीकचिह्नको सहमतिको आधारमा प्रयोग तथा विशेषज्ञबीच ज्ञान साटासाट समावेश छन्।
यो सहकार्यलाई नेपाल सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई बल पुर्याउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। नयाँ संस्करणको इन्टरनेट प्रविधि भविष्यको सञ्जाल विस्तार, इन्टरनेटसँग जोडिने उपकरणहरूको विकास तथा क्लाउड प्रणालीका लागि अत्यावश्यक मानिन्छ।
सुबिसु लिमिटेड विगत २५ वर्षदेखि नेपालमा उच्चस्तरीय इन्टरनेट सेवा, संस्थागत सञ्जाल जडान तथा डिजिटल सेवा प्रदान गर्दै आएको अग्रणी कम्पनी हो। यस सहकार्यसँगै नेपाली प्राविधिक समुदायलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसरसमेत विस्तार हुने अपेक्षा गरिएको छ।