इटहरी । सुनसरीको इटहरीस्थित इटहरी रंगशालामा यही चैत्र ३० गतेदेखि १६औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
क्लबका अनुसार प्रतियोगितामा नेपाल तथा विदेशका विभिन्न क्लबहरू गरी जम्मा ८ टिमको सहभागिता रहनेछ। प्रतियोगितालाई इटहरी उप(महानगरपालिका कार्यालयले संयोजन गर्नेछ।
प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब (काठमाडौं), प्लानिङ ब्वाइज क्लब (काठमाडौं), झापा–११ फुटबल क्लब (झापा), जस्ट जोन (नाइजेरीया), सातदोबाटो वाइसी (ललितपुर), युनाइटेड खुर्सोङ (भारत), युवासमाज सुन्दरहरैंचा र राष्ट्रिय जागृति क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ। सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ र ‘म्यान अफ द म्याच’लाई हरेक दिन १० हजार रुपैयाँ पुरस्कार दिइने खेल संयोजक अनुरोध थापाले जानकारी दिए।
त्यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। ‘राइजिङ प्लेयर अफ इटहरी’ लाई एक थान एलइडी टेलिभिजन प्रदान गरिनेछ।
प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने, स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्ने तथा समग्रमा नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको इटहरी वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए ।
क्लबका अध्यक्ष केशव कार्कीका अनुसार प्रतियोगिताको उद्घाटन खेल चैत ३० गते नाइजेरियाको जस्ट जोन एफसी र युवा समाज सुन्दरहरैँचा बीच हुनेछ।
राष्ट्रिय जागृति क्लबले विगतमा स्वर्गीय दानबहादुर फुयाल गोल्डकप, इटहरी गोल्डकप तथा मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप सफलतापूर्वक आयोजना गर्दै आएको छ।
क्लबले सयौं बालबालिका तथा युवाहरूलाई फुटबल प्रशिक्षण दिँदै विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको छ। इटहरीलाई फुटबलको उर्वरभूमि बनाउने लक्ष्यसहित क्लबले खेलकुदमार्फत सामाजिक रूपान्तरण, युवालाई दुर्व्यसनबाट टाढा राख्ने, तथा समुदायमा सद्भाव कायम गर्ने उद्देश्य राखेको जनाएको छ।