कोशी किनारमा कोशी पर्यटन महोत्सव हुँदै - बिच स्पोर्टस्देखि नौका विहारसम्मको मजा लिन पाइने

न्युजलय २४ चैत २०८२, मङ्गलबार १२:०५ मा प्रकाशित

इनरुवा । कोशी प्रदेश पर्यटन वर्ष–२०८२ लाई लक्षित गर्दै ‘कोशी पर्यटन महोत्सव–२०८२’ आयोजना गरिने भएको छ। महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रम, उद्देश्य र गतिविधिहरू सार्वजनिक गरेका छन्।


महोत्सवको मुख्य उद्देश्य कोशी नदी किनार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको पहिचान र संरक्षण गर्नु रहेको संयोजक अङ्गत राईले जानकारी दिए। साथै, स्थानीय कला, संस्कृति र रैथाने परिकारको प्रचार–प्रसारमा पनि महोत्सव केन्द्रित रहने जनाइएको छ।


पत्रकार सम्मेलनमा कोशी प्रदेश भ्रमण वर्ष–२०८२ का सहसंयोजक भविश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँल अतिथिका रूपमा सहभागी थिए।


कार्यक्रम तालिकाअनुसार चैत २५ गते महोत्सव उद्घाटन, पर्यटक तथा आगन्तुक स्वागत तथा साकेला र झाँगड नृत्यसहित सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ। २६ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्ना, चरा तथा हात्ती अवलोकन, रामधुनी मन्दिर दर्शन, बोराबाँधमा सूर्यास्त अवलोकन तथा लाखे र धान नाचसहित सांस्कृतिक प्रस्तुति गरिनेछ। चैत २७ गते वराहक्षेत्र मन्दिर दर्शन, वराहक्षेत्रदेखि बोराबाँधसम्म र्‍याफ्टिङ, जेट बोट, एटिबी राइडिङ तथा नौका सयर, बिच स्पोर्ट्स र स्थानीय कलाकारको प्रस्तुति रहनेछ।


महोत्सवमा सहभागी पर्यटक तथा आगन्तुकहरूलाई स्थानीय जातीय तथा रैथाने परिकारको स्वाद चखाइने आयोजकले जनाएको छ।


महोत्सवमा भारत तथा अन्य तेस्रो मुलुकबाट करिब १५० जना पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ भने ठूलो संख्यामा आन्तरिक पर्यटकको समेत उपस्थिति रहने विश्वास आयोजकले लिएको छ।


महोत्सवले कोशी क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।